काठमाडौं - नेपाली भिडियो गेम विकास क्षेत्रका लागि गर्वको खबर! नेपाली टिमको प्रतिष्ठित परियोजना The Forge Falcons Battle Royal ले Halo Infinite का प्रमुख डिजाइनर Jerry Hook द्वारा स्थापना गरिएको अमेरिकी 'AAA' गेम स्टुडियो Jar of Sparks सँग आधिकारिक रूपमा सहकार्य (collaboration) गरेका छन्।
कैलालीका दिपेन्द्र धामी र झापाका विजय श्रेष्ठ सहितको टिमले नेतृत्व गरेको The Forge Falcons (Battle Royal) परियोजना अब Jar of Sparks को विश्वस्तरीय अनुभव र नेटवर्कसँग मिसिएर अझ व्यापक र इनोभेटिभ बन्ने भएको छ। यस सहकार्यबाट बन्न लागेको नयाँ शीर्षकले उच्चस्तरीय कथावाचन (narrative-driven storytelling), अत्याधुनिक गेमप्ले डिजाइन र विश्वव्यापी दर्शक लक्षित नयाँ स्तरको एक्सन एडभेन्चर अनुभव दिने लक्ष्य लिएको छ।
उल्लेखनीय कुरा के छ भने, दिपेन्द्र धामी र विजय श्रेष्ठको टिमले भर्खरै मात्र रिलिज भएको चर्चित Delta Force नामक भिडियो गेमको मोबाइल भर्जनमा Character Animation र Backend Development को महत्त्वपूर्ण जिम्मेवारी समेत पूरा गरिसकेका छन्। यी सम्पूर्ण कार्यहरू उहाहरुले remotely अर्थात् नेपालबाटै टाढाबाट सम्पूर्णरूपमा सम्पन्न गरेका थिए। यसले उनीहरूको दक्षता, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय परियोजनासँग तालमेल मिलाउने क्षमताको स्पष्ट प्रमाण दिएको छ।
दिपेन्द्र धामीले औपचारिक वक्तव्यमा भनेका छन्,
"यो सहकार्य केवल दुई स्टुडियोको एकता मात्र होइन, यो नेपाली प्रतिभालाई विश्व मञ्चमा प्रस्तुत गर्ने ऐतिहासिक अवसर हो। हाम्रो टिमले सँधै नयाँ सोच र गुणस्तरीय विकासमा विश्वास राखेको छ, र अब हामीले अझ ठूलो क्षितिज भेटेका छौं।"
यस्तै, विजय श्रेष्ठले पनि आफ्नो भनाई लेखेका छन्,
"The Forge Falcons को यात्राले नयाँ उचाइ पाएको छ। हामी नेपाली गेमिङ समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कटिबद्ध छौं। हाम्रो आगामी प्रोजेक्टले गेमिङ संसारमा नयाँ तरंग ल्याउने विश्वास छ।"
Jar of Sparks का संस्थापक Jerry Hook ले पनि सहकार्यप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले भने,
"The Forge Falcons जस्तो प्रतिभाशाली र जोशिलो टोलीसँग सहकार्य गर्न पाउनु हाम्रो लागि एक अद्भुत अवसर हो। हामीले मिलेर यस्तो अनुभव ल्याउने छौं जुन विश्वभरका खेल प्रेमीहरूले लामो समयसम्म सम्झिने छन्।"
हालको अवस्थामा दुवै स्टुडियोका सदस्यहरू नयाँ संयुक्त परियोजनामा सक्रिय रूपमा काम गरिरहेका छन्। दुवै पक्षले केही हप्तामा परियोजना सम्बन्धी थप विवरणहरू (जस्तै ट्रेलर, स्टोरीलाइन टीजर आदि) सार्वजनिक गर्ने योजना बनाएका छन्।
यो सहकार्यले निश्चय नै नेपालबाट गेम डेभलपमेन्टको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन सक्ने एउटा नयाँ ढोका खोल्नेछ।